काठमाडाैं । काठमाडाैं उपत्यकामा आज सार्वजनिक बिदा दिइएकाे छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाउन सरकारले सार्बजनिक बिदा दिएकाे हाे ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायत ठाउँमा याे पर्व मनाइने गर्दछ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको यःसिं ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न नाँचगान, रथयात्रा र देवीदेवताको पूजा गरी ७ दिनसम्म मनाउने परम्परा रहेकाे छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको यःसिँलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । यःसिँको फेदमा इन्द्रको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।
इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका गद्दी बैठकमा देवीका रूपमा रहेका श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३:०० बजे रथ तान्न शुरु हुने छ ।
यसै बिच भारत भ्रमणका रहेका महानगरका मेयर बालेन्द्र शाह पनि इन्द्रजात्रा अवलोकनका लागि आजै स्वादेश फर्कने भएकाे छ ।




















