एजेन्सी/भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरका छन् । जेलबाट रिहा भएपछि आज आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै २ दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
केजरीवालले भनेको छ, ‘म नागरिकको बीचमा जान्छु, सडकमा जान्छु, घरमा जान्छु र उनीहरुले केजरीवाल इमान्दार छन् भन्ने निर्णय नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ ।’ आम आदमी पार्टीलाई भङ्ग गर्न र आफूलाई डर देखाउने योजनाका साथ मोदी सरकारले जेल पठाएको आरोप लगाउँदै केजरीवालले जेलमा बिताएका दिनले मनोबल बढेको उल्लेख गरे ।
भाजपाको कुशासन, मनपरी र अधिनायकवादविरुद्ध बोल्ने जो कोही पनि भारतमा असुरक्षित रहेको उनको भनाइ छ । ‘जब राम १४ वर्षपछि निर्वासनबाट आए, सीताजीलाई पनि अग्नि परीक्षा दिनुपर्यो । म पनि नागरिकको सामुन्ने अग्नि परीक्षा दिन तयार छु ।’ केजरीवालले भनेका छन् ।
लोकतन्त्र बलियो बनाउनकै लागि आफूले जेलबाट राजीनामा नदिएको उनको भनाइ छ । भारतीय जनता पार्टीका नेताले भने राजीनामा दिने केजरीवालको घोषणालाई सस्तो प्रचारबाजी र नाटकको सङ्ज्ञा दिएका छन् । आउँदो २-३ दिनभित्र संसदीय दलको बैठक बसेर नयाँ मुख्यमन्त्रीको नाम तय हुने केजरीवालले बताए ।


