एजेन्सी /भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
रक्सीसम्बन्धी अन्तःशुल्क नीतिमा भएको घोटालामा उनी पक्राउ परेका थिए । केजरीवाललाई केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले पक्राउ गरेपछि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासले केजरीवाललाई रिहा गर्न आदेश दिएको हो । भारतीय समाचार संस्था पीटीआईका अनुसार न्यायाधीशले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिएका हुन् ।
दिल्ली सरकारमाथि सन् २०२१/२२ को अन्तःशुल्क नीतिमा भ्रष्टाचारको आरोप छ । तर यो नीति अहिले खारेज भइसकेको छ । यसैबीच अदालतको आदेशपछि आम आदमी पार्टीले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ ।




















