बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित ३ जनाकाे ज्यान गएको छ । दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का १ जना पुरुषको समेत ज्यान गएको हो ।
आज बिहान ८:४५ बजे रा १ झ २०० नम्बरको सरकारी जीप गलकोट–२ भुङ्खानीमा सडकबाट करिब ३०० मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएकाे छ । घटनास्थलबाट १ जना घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।
उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडाैं गएर फर्कने क्रममा दुर्घटनामा परेकाे हाे । दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो ।
घाँस काट्न जानेहरुले जिप दुर्घटनामा भएकाे देख्ने बित्तिकै प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जानकारी दिएकाे छ ।




















