काठमाडाैं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार सुलेमान शङ्कर (इकु) लाई पक्राउ गरेकाे छ । कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा प्रहरीले उनलाइ पक्राउ गरी बुधबार सार्वजनिक गरेकाे हाे ।
सुलेमानलाई सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखाैं रुपैयाँ ठगी गरेको अभियोग लागेकाे छ । साेही आधारमा सुलेमानलाइ पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
कलाकार इकुले विदेश लैजाने भन्दै १ जनाबाट कम्तीमा १५ देखि २० लाख रुपैयाँसम्म उठाउने गरेको जानकारीमा आएको र यस विषयमा थप अनुसन्धान भइरहेको बोगटीले बताए ।
पक्राउ परेका सुलेमानलाई जिल्ला अदालत काठमाण्डौबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।



