अर्घाखाँची । अर्घाखाँचीको हिलेखोलामा आज भएकाे जीप दुर्घटनामा परी १ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य ९ जना घाइते भएकाे अर्घाखाँची प्रहरीले जनाएकाे छ ।
गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिकाको हिलेखोलामा भएकाे जिप दुर्घटनामा छत्रदेव–५ टुनिचौरका ६५ वर्षका रामप्रसाद पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिए ।
बुटवलका लागि हिडेको लु १ ज ४७६३ नम्बरको जीप आज बिहान शितगंगा–१२ हिलेखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना घाइते भएका ९ जनामध्ये छत्रदेव–५ का चुराबहादुर खत्री, सावित्रा विक र दीक्षा पौडेललाई थप उपचारका लागि बुटवल लगिएको छ । घाइतेहरू मघ्ये अनिता परियार र उनका २० महिनाका छोरासहित गीता आचार्य, कमला अधिकारी, अनुष्का र विष्णु थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।


