काठमाडाैं । उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन नेपाली कांग्रेसले सुझाव दिएको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले उपसभामुखलाई राजीनामा दिन उपयुक्त हुने सुझाव दिएको हो ।
असम्बन्धित व्यक्तिहरूको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको बैठकले ठहर गरेकाे छ । उपसभामुख रानालाई पदबाट हटाउने विषयमा कांग्रेस–एमालेबीच यस अघि नै सहमति भइसकेको छ ।
यसैबारे नेपाली काँग्रेसकाे साझा धारणा बनाउन सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गरेकाे हो ।
उपसभामुखले ‘पद अनुकूल आचरण नगरेको’ भन्दै कांग्रेस र एमालेले उनलाई हटाउने तयारी गरेका हुन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् । उपसभामुखले मार्गप्रशस्त नगरेमा उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारी छ ।


