पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो ।
सिफारिस अनुसार सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन् ।
नेपाल टेलिभिजनका उत्कृष्ट संवाददाता पुरस्कार ४ पल्टसम्म हात पारेका उनलाई भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार लगायत दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मान भईसकेका छन् । शर्मा लेखनाथ उपल्लो पुँडिटार निवासी हुन् ।
छनोट समिति सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्व अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेनसदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी थिए ।
शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सदस्य हुन ।


