प्रतिकात्मक तस्बिर
काठमाडाैं । हिजोदेखि केही ठाउँको मौसम खुले पनि बर्षाकाे सम्भावना कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।
त्यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटीनमा उल्लेख गरीएकाे छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले अझै केही दिन मौसममा खासै सुधार नहुने महाशाखाले जनाएकाे छ । आज बिहान कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार र शुक्रबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले भोलि र पर्सि पश्चिम क्षेत्रमा ठूलो बर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


