रुकुम पूर्व । लुम्बिनी प्रदेशमा काँग्रेसबाट सांसद बनेका धनबहादुर केसीले आत्मसमर्पण गरे लगत्तै कारागार चलान गरिएकाे छ । आजै रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका सांसद केसीलाई कारागार चलान गरिएकाे हाे ।
उनलाई आजै कारागार चलान गरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिए ।
रुकुम पूर्वका १(ख) बाट निर्वाचित केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार जरिवानाको फैसला सुनाए पछि प्रहरीकाे फरार रहेका थिए ।
उनलाई २०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो । सुरुमा १९ दिन थुनामा बसेका केसी पछि अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए ।
केसीकी जेठी श्रीमती राधा केसीविरुद्ध साविकको रुकुम जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा चलेको थियो । उक्त मुद्दाका क्रममा केसीले सरकारी कागजात किर्ते गरी पेस गरेको पाइएपछि जेठी श्रीमती राधाकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी केसीविरुद्ध किर्ते गरेको कसुरमा मुद्दा चलेको थियो ।
जिल्ला अदालतले सांसद केसीविरुद्ध २०४८ साल असार ९ गते भएको फैसला कार्यान्वयन नभएको सम्बन्धमा रुकुम पूर्व जिल्ला अदालतलाई पत्राचार गरेको थियो । त्यसपछि मात्रै उक्त व्यक्ति हालका प्रदेशसभा सदस्य डीबी केसी भन्ने धनबहादुर केसी भन्ने खुलेको हाे ।



