साँकेतिक तस्बिर
बागलुङ । बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ भने १ जना बेपत्ता भएका छन् ।
बागलुङ नगरपालिका–४ बान्द्रे खाेलामा आएकाे बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
उनका अनुसार गएराति बान्द्रे खोलाको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरलाई बगाएको हो । बागलुङ नगरपालिका–४ बान्द्रेका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
बागलुङ आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । नदी तथा खोला क्षेत्रमा बस्ने तथा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।


