बाँके । बाँकेको नरैनापुरमा झाडापखालाबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ३ जना सहित ४ जनाको मृत्यु भएकाे पुष्टी भएको छ । मृत्तक सबैकाे शरिरमा पानीको कमी हुँदा मृत्यु भएकाे स्वास्थ्य कार्यालय बाँकेका महामारी रोगका ‘फोकल पर्सन’ तथा सूचना अधिकारी नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
झाडापखालाबाट मृत्यु हुनेमा ७५ वर्षीया शान्ति पासी, २६ वर्षीया उषा पासी, १ वर्षकी नाबालिका र युसुफ अलि रहेका छन् ।
उनका अनुसार नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा १ जना बालकसहित ४ जनाको शरीरमा पानीको कमी भएकाले ज्यान गएको हाे ।
मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ज्यान गएको पुष्टि भएको छ ।
गएको भदौ १४ गतेदेखि फैलिएको झाडापखाला फैलिएकाे थियाे । नरैनापुर–३ गेगलीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङक्रमण देखिएको थियो ।
झाडापखाला देखिएको नरैनापुरमा हैजाजन्य किटाणु भने नभेटीएको स्वास्थ्य शाखाले जानकारी दिएकाे छ । गाउँपालिकाले पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ ।




















