काठमाडाैं । नेपाली कांग्रेसले अबकाे चुनावमा कुनैपनि पार्टी संग तालमेल नगर्ने निर्णय पारित गरेको छ । आइतबार सकिएको केन्द्रीय समिति बैठकले आउँदो चुनावमा कसैसँग तालमेल नगर्ने निर्णय भएकाे महामन्त्री गगनकुमार थापा बताए ।
महामन्त्री थापाले यो प्रस्ताव गएको फागुनमा सम्पन्न महासमिति बैठकमा राखेका थिए । तर महामन्त्री थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले विमति जनाउँदै आएको थियो ।
गएको साउन २३ देखि शुरु भई हिजो सकिएको केन्द्रीय समिति बैठकले उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको ‘नीति–प्रस्ताव’, महामन्त्री गगनकुमार थापाको ‘साङ्गठनिक प्रस्ताव’ र महामन्त्री विश्वप्रकाश शर्माको ‘समसामयिक राजनैतिक प्रस्ताव’ बृहत् छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी सर्वसम्मत पारित गरेको हो ।
बैठकले कांग्रेस र एमालेबीच गएको असार १७ गते भएको ७ बुँदे सत्ता गठबन्धनको सहमतिपत्रअनुसार ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ लगायत विषयलाई लिएर भइरहेका टीका–टिप्पणीमा ध्यानाकर्षण भएको जनाएको छ ।
७ बुँदे सहमति राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन तथा विकास निर्माणको अभियानलाई तीव्रता दिनेलगायतका उद्देश्य प्राप्तिका लागि हो भन्नेमा प्रस्ट रहेको बैठकले ठहर गरेको छ ।


