काठमाडाैं । नेपाल आयल निगमले आज बिहानैदेखी लागु हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले निकालेको विज्ञप्तीमा उल्लेख छ । अब पेट्रोलको मूल्य काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर लगायत भारतीय सीमा क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजल र मट्टीतेलको मूल्य काठमाण्डौ र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र धनगढी, वीरगञ्ज, विराटनगरलगायत भारतीय सीमा क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ ।


