काठमाडाैं । देशभर डेङ्गीका ६ हजारभन्दा बढी बिरामी देखा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार देशैभर ६ हजार ३४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको हाे ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
सङ्क्रमणबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशमा मात्रै २ हजार ९५४ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै कोशी प्रदेशमा ७९१, मधेसमा १००, बाग्मतीमा १ हजार ६२३, लुम्बिनीमा ४४४, कर्णालीमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३४२ जनामा सङ्क्रमण देखिएको छ ।
देशैभरमा सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँ हाे । तनहुँमा १ हजार ११६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै काठमाडाैंमा ५११, भक्तपुरमा ६९ र ललितपुरमा १०० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।


