काठमाडाैं । आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अहिले पनि कोशी प्रदेशका केही स्थानमा हल्का पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । कोशी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । आज पूर्वी क्षेत्रमा अलि बढी मौसमी प्रभावदेखिएको छ भने भोलि पश्चिमी क्षेत्रमा मौसमी प्रभाव देखिने छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने महाशाखाले बुलेटीन जारी गर्दै भनेकाे छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा राति मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।




















