काठमाडाैं । यस वर्षको मदन पुरस्कार पत्रकार एवम् लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ ले पाएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले २०८० को मदन पुरस्कार ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
मैनालीको यो पाँचौं पुस्तक हो । यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् ।
यसअघि गुठीले पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको थियाे । जसमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप (कथासङ्ग्रह), जीवन क्षेत्रीको नुन–तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र सङ्ग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए ।


