एजेन्सी/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । हिजो युक्रुेन पुगेका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेकाे बीबीसीले जनाएको छ ।
मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका थिए । केही समय अघि रुसको भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदी अहिले युक्रेन पुगेकाे हो ।
प्रधानमन्त्री मोदीले युक्रेनको राजधानी कीभमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गरेका थिए । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् ।
युक्रेनको राजधानी कीभमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्री एस जयशङ्करले प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएको र आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुने बताए ।
भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । जयशङ्करले युक्रेनलाई भारतले दिएको सहयोगबारे पनि चर्चा गरेका थिए ।



