चितवन । भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा १ जना महिलाको मृत्यु भएको छ । मंगलबार पाठेघरकाे मासु अर्थात बायोप्सी निकाल्ने क्रममा गैंडाकोट नगरपालिका वडा नं. ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालकाे मृत्यु भएकाे हाे ।
स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) गरिएकी ति महिलाको मृत्यु पछी मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् ।
पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको बताए । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको समेत जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताए पनि बिरामीका बारेमा उनका आफन्तलाइ कुनै पनि जानकारी दिएका थिएनन् ।




















