काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले दिएकाे जानकारी अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९० जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २३८ जना घाइते भएका छन् ।
त्यस्तैगरी, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ११४ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेकाे पनि प्रधान कार्यालले जनाएकाे छ ।
बाढीको कारण हालसम्म ३८४ घर डुबानमा परेका छन् । ३२७ वटा घर, ११२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८५२ वटा पशु चौपायको मृत्यु भएको पनि कार्यालयले जनाएकाे छ ।
साेही अवधिमा विपद्का घटनाबाट ४ हजार ८१९ घर परिवार विस्थापित भएका छन् ।




















