काठमाडाैं । अहिले देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ । बाँकी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ । देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १-२ ठाउँमा ठूलो वर्षाको पनि सम्भावना छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनसुनी वायु सक्रिय भएकाले अझै २ दिन देशैभर झरी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । लगातार वर्षा नभएपनि २–४ घण्टाको फरकमा पानी रोकिँदै फेरि पर्दै संभावना रहेकाे छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै नवलपुरको डण्डामा ११० मिलिमिटर वर्षा मापन भएको छ । त्यस क्षेत्रमा पर्ने नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


