काठमाडौं । नेपालमा पछिल्लाे समय ७४ जिल्लामा डेंगुकाे संक्रमण फैलिएको छ । त्यसमध्ये तनहुँ जिल्लामा संक्रमितकाे संख्या धेरै रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ ।
सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेका छन् ।
त्यस्तै, कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९० जना डेंगु संक्रमित भेटिएका छन् ।
पछिल्ला दिनमा गण्डकीमा प्रदेशका जिल्लामा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ । अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारी बताउँछन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।


