काठमाडौं । सहकारी ठगी आराेप लागेका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया जाने भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले गृह मन्त्रालयलाई पत्राचार गर्दै २ जना प्रहरी अधिकृत मलेसिया पठाउन सहजीकरण गरिदिन आग्रह गरेको हाे ।
यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो । २ जना प्रहरी अधिकृत मलेसिया पठाउन भन्दै गृहलाई पत्राचार गरिएको विषय प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले पनि पुष्टि गरे ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका २ जना अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो । तर, त्यतिबेला प्रक्रिया अघि नबढ्दै सत्ता फेरबदल भएपछि अहिले फेरि गृहकार्य थालिएकाे हो ।
प्रहरी प्रधान कार्यालयले ‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर जीबी राईलाई नियन्त्रणमा लिन आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले २ जना प्रहरीलाई मलेसिया जान स्वीकृत गरिदिनु हुन र प्रहरी प्रधान कार्यालयसँग यथेष्ठ बजेट समेत नभएकाले त्यसको व्यवस्था समेत गरिदिनु हुन’ भन्दै गृहमा पत्राचार गरेको छ ।
‘रेड नोटिस’ समेत जारी भएको व्यक्ति र यसअघि समेत पटक–पटक प्रयास गर्दा मलेसियाली सरकारले नेपाल फिर्ता नपठाएपछि अहिले नेपाल प्रहरी टोली नै उतै पठाउन लागिएको हो ।



