काठमाडाैं । आज गण्डकी सहित ४ प्रदेशमा ठुलाे पानी पर्ने संभावना रहेकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै गण्डकी, कोशी, मधेश र बागमतीमा ठुलाे पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
महाशाखाका अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
आउँदो २४ घण्टामा सबै प्रदेशका १/२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी पहिरोको जोखिमबाट जोगिन महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, कास्कीलगायत ठाउँमा पानी परेको छ ।


