काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुछिएका बेचन झाले पोलिग्राफ जाँच गराउन इन्कार गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गर्दा इन्कार गरेका हुन् ।
जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न इन्कार गरेकाे व्यहोरा सहितको प्रतिवेदन पेश गरीए पछी उक्त कुराकाे खुलासा भएकाे हाे ।
सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।
अनुसन्धानका क्रममा प्रहरी अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको २ करोड रुपैयाँको चेक पनि बरामद गरेको थियो । त्यसबारे पनि आफूलाई थाहा नभएको उनले बताए ।
अनुसन्धान अधिकृतहरुले झा र केसीबीच भएको संवादको एउटा अडियो पनि उनलाई सुनाएका थिए । त्यो पनि आफ्नो आवाज नभएको उनले जिकिर गरेका छन् ।
केसीकाे बयानमा मन्त्रिपरिषद्मार्फत केही निर्णय गराउनलाई उक्त रकम मागेका थिए । चेक दिन जाँदा गरेको कुराकानीको अडियो उनले प्रहरीलाई उपलब्ध गराएका थिए ।
उनीविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।


