काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान केन्द्रले जानकारी दिएको छ।
अहिले बिहान बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कहाँ कति पानी पर्यो ?
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा कोशी, मधेस, बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही विभागमा भारी वर्षा भएको छ ।
काठमाडौं उपत्यकाका केही स्थानमा पनि भारी वर्षा भएर बागमती, विष्णुमतीको जल सतह बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा भारी वर्षा भएको छ । विभागका अनुसार बूढानीलकण्ठ केन्द्रमा ९६.८ मिलिमिटर वर्षा भएको छ ।
सिन्धुपाल्चोकको गोबरे केन्द्रमा ९३ मिलिमिटर वर्षा भएको छ ।
नवलपरासीको दुम्कोली केन्द्रमा १०२.८, बाराको सिमरा विमानस्थलमा १०३.६ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै कैलालीको गर्भ दरबार केन्द्रमा पनि भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ८०.८ मिलिमिटर वर्षा भएको छ ।
सर्लाहीको मनुस्मारा केन्द्रमा ७८.६, सोलुखुम्बुको पकर्नास केन्द्रमा ७८, रौतहटको महेशपुर केन्द्रमा ७२.६ मिलिमिटर वर्षा भएको छ ।




















