सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका २ जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्न सफल भएको छ ।
असार १ गते शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरी नदिमा बेपत्ता भएका थिए । दुवै जनाको शव आईतबार निकालिएको सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
आईतबार सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा गएको १० जना गोताखोरको टोलीले १२ः३५ बजे भुपेन्द्र केसीको र १२ः४० बजे विनोद केसीको शव निकालेका हुन् । उनीको शव ३० फिट गहिराईबाट निकालिएको सहप्रबक्ता थापाले बताए ।
यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बिक असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।
घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरको टोलीले विकको शव २० फिट गहिराईबाट निकालेको हो ।
त्यस्तैगरी, कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको सहप्रबक्ता थापाले जानकारी दिए ।




















