पाेखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासकाे मत पाए संगै मन्त्री मण्डल बिस्तार गरेका छन् । आज सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकाे हाे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले यसअघि पनि साेही मन्त्रीको जिम्मेवारी सम्हालि सकेका छन् । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।



