गोरखा । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तरर्गत आज राती हुने नेपाल र नेदरल्याण्ड बिचको खेल देखाउन गोरखा नगरपालिकाले गोरखा बसपार्कमा तयारी पुरा गरेको छ ।
नेपाली समयानुसार मंगलबार राति ९ः३० हुने खेल सर्व साधारणहरुको लागि देखाउन तयारी पुरा भएको गोरखा नगरपालिकाका आईटी अफिसर सुयोग खनालले जानकारी दिए ।
उनका अनुसार गोरखा संग्रालय परिषर भित्र रहेको डिजिटल बार्डमा नेपाल र नेदरल्याण्ड बिचको खेल देखाउन लागिएको हो । जसका लागि सुरक्षा ब्यवस्थाका लागि जिल्ला प्रशासन मार्फत सुरक्षा प्रवन्धका लागि पत्राचार समेत भई सकेको छ ।
नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । ३ महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले २ खेल जित्दा नेपालले १ खेलमा जित हासिल गरेको थियो ।
विश्वकप अन्तरर्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।
त्यसैगरी, यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी, यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।
विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना समेत प्रदान गरेका छन् ।



