गोरखा । गोरखाको गोरखनाथ गुफामा हिजो सम्पन्न भएको रोट महोत्सवमा देशैभरबाट ५० हजारभन्दा बढी श्रद्वालु भक्तजनहरुको सहभागिता भएको छ ।
सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जेष्ठ १० गतेदेखी २० गतेसम्म सञ्चालनमा आएको २१औं रोट महोत्सवमा उक्त संख्यामा भक्तजनहरुको सभागिता भएको केन्द्रका संयोजक रामजी अर्यालले बताए ।
‘पूर्वमा जनकपुर देखी र पश्चिममा सुर्खेतदेखीका भक्तजनले महोत्सवमा सहभागिता जनाएको’ भन्दै उनले भने ‘महोत्सव अवधिभर ५० हजारभन्दा बढी श्रद्वालुले सहभागिता जनाएको छ ।’
गोरखानाथ गुफामा भएको महोत्सवमा दैनिक ४ हजारदेखी ६ हजारभन्दा बढी मानिसको सहभागिता रहेको गोरखा नाथ गुफाका मुल पुजारी प्रदिप योगिले बताए । उनले महोत्सव अवधिभर राम्रो संग श्रद्वालु भक्तजनहरुलाई प्रदान समेत दिन हम्मेहम्मे परेको जानकारी दिए ।
शक्ति केन्द्रको आयोजनामा गएको २०६१ सालदेखी बैशाख पुर्णिमाको अवशर पारेर गुरु गोरखनाथलाई सवालाख रोट अर्पण गर्दै आएको छ । केन्द्रले समस्त मानव तथा विश्व शान्तिको कामना गर्दै रोट महोत्सवका आयोजना गर्दै आएको छ ।
रोट महोत्सवमा श्रद्वालु भक्तजनहरुको यो नै अहिलेसम्मको ठुलो सहभागिता भएकोमा उत्साहित हुदै केन्द्रका विन्देवरी वरालले आगामी दिनमा हुने २२औं रोट महोत्सवलाई अविस्मरणीय बनाउने प्रयास हुने बताए ।
उनले रोट महोत्सव पूर्ण रुपमा सफल भएको भन्दै आध्यात्मिक रुपमा झनै यो बर्ष सम्झीरहन लायएको भएको बताए । उनले महोत्सव अवधिभर ३५ जिलका साधक साधिका तथा श्रद्वालु भक्तजनहरुले सहभागिता जनाएको पनि जानकारी दिए ।
उनले आगामी महोत्सवलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने गरी आयोजना गर्ने पूर्व तयारी गर्ने पनि बताए ।
११ दिनमा कुल १ लाख ६७ हजार ९६५ वटा ताईरोट गुरु गोरखनाथलाई अर्पण गर्न सफल भएको केन्द्रले जनाएको छ । महोत्सव अवधिभर २५ लाखभन्दा बढी खर्च भएको अनुमान केन्द्रले गरेको छ ।
रोट के लाई भन्निछ ?
गुरु गोरखनाथलाई चढाइने रोट २ किसीमको हुन्छ । भुग्रे र ताई रोट । भुग्रे रोटलाई आँगाको भुग्रोमा पकाउने गरिन्छ ।
रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ संप्रदायका मानिसहरुले ध्यूमा तारेर तयार पारीएको परिकार हो ।
रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता ५२ शक्ति बर्धक वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।
सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले शुद्व भै मन्त्र जाप गरी बिचको भाग उठाएर बनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।
तात्कालिन राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य एकिकरणका वेला उत्त ४ रोट र १ माना पानी खाएर दिनभरी लडेको किबदन्तीमा उल्लेख गरिएको पाइन्छ । तात्कालिन अवस्थामा यसरी रोट खाएर युद्व लडन जाँदा जुनकुनै पनि स्थानमा विजयी हासील गरेको विश्वास गरिदै आएको छ ।





















