बझाङ । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाँडामा रहेको नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेर अनुगमन गरी फर्किएको सशस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
समुन्द्र सतहबाट ५ हजार २०० मिटर उचाई तथा भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बावजुत सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेर सिमा स्तब्भको अनुमगन गरेर फर्किएको उनले बताए । जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमाक्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता भएको पनि उनले जानकारी दिए ।
साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट ११७ किलोमिटरको दुरिमा रहेको छ ।
सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थिए । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बिचबिचमा पाल टाँगेर रात बिताएर उक्त स्थानमा पुगेको सहप्रबक्ता थापाले बताए ।
तस्बिर : शसस्त्र प्रहरी बल नेपाल





