पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
सर्वोच्च अदालतको सोमबारको आदेशबमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको पहिलो ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको घोषणा असंवैधानिक भएको भन्दै अदालत पुगेका पाण्डे दोश्रो पटक मुख्यमन्त्री बनेका छन् । ०८० वैशाख १४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका पाण्डेले केन्द्रीय गठबन्धन फेरबदल हुँदा अल्पमतमा परेपछि गएको २१ फागुनमा राजीनामा दिएका थिए ।
वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
अब मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् भने बहुमत पुर्याउन कांग्रेसले थप ४ सिट चाहिन्छ ।
प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ७, नेपाल समाजवादी पार्टीका १, राप्रपा २ र नेकपा एकीकृत समाजवादीका १ सांसद छन् ।



