गोरखा । गोरखा बजारको एक मोबाईल पसलमा मध्यराती चोरी भएको छ । गोरखा नगरपालिका–६ को कालिमाटी बजारमा रहेको प्रविन मोबाईल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मोबाईल पसलबाट चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले सिन्धुली घर बताउने २० बर्षका कुमार मोक्तानलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । मोक्तान चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले गोरखा नगरपालिका–८ को चाईनिज धारा क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका मोक्तानको साथबाट प्रहरीले १२ थान मोबाईल, १ थान पावर ब्यान्क, २ थान स्पिकर, ८ वटा नमस्तेको नयाँ सिमकार्ड, १२ वटा एनसेलको नयाँ सिमकार्ड, ३ थान मोबाईलको स्क्रिन ग्लास, नगद २०५ रुपैयाँ र १ थान सानो झोला फेला पारेको छ ।
बिहान ३ बजेको समयमा सडक संग जोडिएको सटरको अग्रभागबाट पसेर उनले चोरी गरेको प्रहरीको प्रारम्भीक बयानमा स्विकार गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
मोक्तानलाई डिउटीमा खटिएका प्रहरी हवल्दार सन्तोष परियार र प्रहरी सहायक हवल्दार मधुसुदन बिष्टलेको टोलीले शंका लागि सोधपुछ गर्ने क्रममा उक्त कुरा पत्ता लागेको हो ।
चोर पक्राउ गर्ने दुवै जना प्रहरी कर्मचारीहरुलाई चनाखो तथा तदारुकताका साथ आफ्नो डिउटी निर्वाह गरेको भन्दै प्रहरी नियमावली २०७१ (संसोधन सहित) बमोजिम पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



