गोरखा । कोरोना महामारी लगत्तै बन्द भएको उत्तरी गोरखाको ङुइला नाका खुलेको छ । ५ बर्षदेखि बन्द रहेको ङुइला नाका हालै एक कार्यक्रम बिच खुल्ला गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
‘२०७६ सालमा कोरोना देखिए लगत्तै बन्द भएको थियो’ उनले भने ‘चिनियाँ सरकारले एकतर्फी रुपमा बन्द गरेको छेकम्पार र तिब्बत जोड्ने ङुइला नाका केही दिन अगाडी उद्घाटन गरे खुल्ला गरिएको हो ।’ यो नाका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ को छेकम्पार र चाइनाको तिब्बती राज्यको जोङ्गास्थित स्या सहरमा संग जोडिन्छ ।
अध्यक्ष लामा अनुसार तिब्बतको जोङ्गास्थित स्या सहरमा औपचारिक कार्यक्रम आयोजना गरेर नाका खुल्ला भएको घोषणा पछि अहिले उक्त नाका सर्व साधारणका लागि खुल्ला भएको छ ।
नाका खुलेसंगै छेकम्पार र चुम्चेतबासीहरु खुशी भएको पनि अध्यक्ष लामाले जानकारी दिए ।
उत्तरी गोरखाकै चुमनुब्री गाउँपालिका–१ मा पर्ने रुइला नाका भने खुल्न अझै केही समय लाग्ने देखिएको छ ।


