गोरखा । उत्तरी गोरखाको उहिया क्षेत्रमा आज दिउसो ठुलो सुख्खा पहिरो खसेको छ । पहिरो खसे लगत्तै उत्तरी गोरखा जाने सडक बाटो अबरुद्व भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
‘धार्चे गाउँपालिका–३ को पहाडबाट पहिरो खसेको हो’ उनले भने ‘पहिरो खसे लगत्तै उत्तरी गोरखा जाने मुख्य मार्ग पूर्ण रुपमा अबरुद्व भएको छ ।’
पहाडको सबैभन्दा माथिबाट ठुलो ढुङा चोटिएर खस्दा बुढी गण्डकी नदी र सडकलाई समेत केही असर गरेको अध्यक्ष गुरुङ जानकारी दिए ।
यारु क्षेत्रको अर्को पाटोमा पहाडबाट ढुङा खसेको स्थानिय क्या.बलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कुनै पनि मानविय क्षती नभएता पनि स्थानियले बाख्रा चराउन उक्त क्षेत्रमा गएको तर हालसम्म कुनै जानकारी प्राप्त नभएको उनले बताए ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले पनि पहिरो गएको पुष्टी गर्दै मानविय र पशु धनको क्षती भए नभएको बारेमा जानकारी लिन प्रहरी घटना स्थल तर्फ गएको जानकारी दिए ।
पहिरो गएका क्षेत्र बेनीघाट–आरुघाट–आरखेत–लार्के सडकको क्षेत्र हो । त्यहाँ नेपाली सेनाले प्लाप पारेर पहाडमा ब्लास्टिङ गरी सडक निर्माण गरेको कारण पहाडको माथिल्लो भाग चोटिएर खसेको अनुमान गरिएको छ ।
उक्त सडक सञ्चालनमा ल्याउन ३ दिन जती लाग्ने सक्ने स्थानियहरुले बताए । पहिराे खसेकाे क्षेत्रमा मानव बस्ती भने छैनन् ।







