गोरखा । हुलाक सेवालाई अव सेवासंगै व्यवसायिक रुपमा विकास गर्न सक्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । हुलाक सेवा विभागको आयोजनामा हुलाक निर्देशनालय कास्की अन्र्तगत रहेका १७ वटा जिल्लाका हुलाक कार्यालयका प्रतिनिधि सहित सरोकारवाला बिच आज गोरखा सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले हुलाकलाई सेवाको रुपमा मात्र अगाडी बढाउदा यसको सुदृढिकरण सम्भव नहुनेमा बताएका हुन् ।
हुलाक सेवालाई कागजात मात्र बोक्ने कार्यालयको हिसावले हेर्दा यसको महत्व र गरिमा घट्दै गएको सहभागीहरुको टिप्पणी छ । अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले हुलाक कार्यालय रुग्ण उद्योगहरु जस्तै बन्दै गएकाले जनताले विश्वास गर्ने खालको बनाउनुपर्ने बताउनुभयो ।
उहाँले देश संघीयतामा गईसक्दा पनि हुलाक सेवा अझैपनि २०२८ सालकै संरचनामा चलिरहनुले पनि हुलाक चलायमान हुन नसकेको पुष्टी हुने उल्लेख गर्नुभयो । ‘‘हुलाकलाई अव व्यवसायिक रुपमा जोडदिएर अगाडी बढाउनैपर्छ, प्रमख थापामगरले भन्नुभयो, ‘‘राज्यको लगानी ४ अर्वजति हुने र आम्दानी ३० करोड मात्र हुने स्थितीले हुलाक चल्न सक्दैन ।’’
उहाँले हुलाकमा काम गर्ने कर्मचारीहरु समेत अहिलेको प्रविधि र परिस्थितीसंग चल्नसक्ने खालको हुनुपर्नेमा समेत जोडदिनुभयो । प्रमुख थापामगरले हुलाक सेवाको विकास र बिस्तारका लागि समन्वय समितिले आवश्यक सहयोग गरेर अघि बढ्न तयार रहेको समेत बताउनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले आधुनिक सञ्चार प्रविधिको विकाससंगै हुलाक सेवा साँघुरिदै गएकाले हुलाकले आफ्नो सेवालाई आधुनिक र फराकिलो बनाउन सक्नुपर्नेमा जोडदिनुभयो ।
‘‘हुलाक सञ्चारको एक महत्वपूर्ण माध्यम हो, उहाँले भन्नुभयो ‘‘तर सञ्चारमा भएको विकाससंगै हुलाक सेवा बृहत हुँदै जानुपर्ने थियो त्यसो हुन सकेन बरु नागरिकले हुलाक सेवा साँघुरिदै अनुभूति गरिरहेका छन् ।’’ उहाँले हुलाक सेवालाई पुर्नसंरचना गरी व्यवस्थित ढंगले सञ्चालन गर्ने हो भने यसले जनतालाई सरकारीस्तरबाट सुलभ ढंगबाट राम्रो सेवा दिनसक्ने उल्लेख गर्नुभयो ।
बजारमा पछिल्लो समय नीजि क्षेत्रले हुलाक सेवाले दिने प्रकृतिको सेवा दिएर मनग्य आम्दानी कमाउन सफल भएको अवस्था हुलाक सेवाले आफूलाई व्यवस्थित गर्नसके नीजि क्षेत्रबाट दिएको भन्दा उत्कृष्ट सेवा जनतालाई प्रदान गर्नसक्ने अवस्था रहेको बताउनुभयो ।
‘‘हुलाक सेवामा काम नहुने र कर्मचारीहरु समेत पदोन्नतीका लागि अध्ययन गर्ने अवसर प्राप्तिका लागि हुलाक कार्यलयमा सरुवा भएर जाने प्रवृतिपनि यदाकदा सुनिन्छ, उहाँले भन्नुभयो, ‘‘यसले हुलाक कार्यलय प्रतिको आर्कषण घटाएको अनुभूति हुन्छ, हुलाकमा जाने कर्मचारीहरु फुर्सदका मिलाउनका लागि नभई काम गर्नका लागि योजना बनाएर हुलाकमा जाने सोचको विकास गर्नु पनि जरुरी छ ।’’
नगरप्रमुख रानामगरले हुलाक सेवाको टिकट काउण्टर बिस्तारका लागि नगरपालिकाको तर्फ आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । त्यस्तै गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हुलाक सेवालाई प्राधिकरणमा लैजाने वा विभाग अन्र्तगत राख्ने भन्नेमा स्पस्ट नीतिगत व्यवस्था गरेर मात्र पुर्नसंरचनाको काम अगाडी बढाउनुपर्नेमा जोडदिनुभयो ।
‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालय प्रतिको आर्कषण बढ्दै जाने तर त्यसैको मातहतमा रहेको हुलाक सेवाको आर्कषण घट्दै जानेकुरा राम्रो होइन, उहाँले भन्नुभयो, ‘‘अव उपभोक्ताले हुलाक खोज्दै जाने भन्दापनि हुलाकले उपभोक्ता खोज्दै सेवा छिटो, छरितो र व्यवसायिक बनाउनुपर्छ ।’’
अन्र्तक्रिया कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आर्चायले हुलाक सेवाले पुरानो इतिहास बोकेको भएपनि वर्तमानलाई भने पछ्याउन नसकेको बताउनुभयो । ‘‘हुलाक सेवा कि खारेज हुने हो वा सच्चिएर, सुध्रिएर जाने हो भन्ने अवस्था छ, उहाँले भन्नुभयो, ‘‘यी दुई विकल्प मध्ये एउटा विकल्प रोज्नै पर्ने अवस्था अहिले हुलाक सेवाको छ ।’’
कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकालले प्रेस काउन्सिल र सूचना विभाग गर्दै आएको पत्रपत्रिका दर्ता, नवीकरण, लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने काम हुलाकले गर्नसक्ने गरी सेवा दिनुपर्नेमा जोडदिनुभयो ।
रासस


