गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । ०७२ साल बैशाख १२ गते गएको ‘गोरखा भूकम्प’ परी ज्यान गुमाएकाहरुको सम्झनामा पालिकाले आज १ दिनको लागि बिदा दिएको अध्यक्ष बिण्णुप्रसाद भट्टले जानकारी दिए ।
पालिकाले हिजै सूचना जारी गरेर आजको लागि सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । जारी सूचनामा ‘गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पमा दिवंगत हुनुहुने नागरिकहरुको सम्मान तथा संझनामा’ बिदा दिएको जानकरी दिदै ‘बुधबार यर बारपाक सुलिकोट गाउँपालिका भित्रका सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिईएको’ भनिएको छ ।
‘साथै सदाझै गाउँपालिकाको वडा नम्बर १ को श्री हिमालय माध्यामिक बिद्यालयको खेलमैदानमा गाउँपालिको तर्फबाट दिउसो ११ः४५ बजे आयोजना हुने श्रद्वाञ्जली कार्याक्रममा सहभागीताको लािग पनि सबैमा अनुरोध छ’ भनिएको छ ।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी बारपाकमा मात्रै ७२ जनाको मृत्यु भएको थियो भने जिल्ला भित्र ४७१ जनाको मृत्यु भएको थियो ।
गोरखा भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगा सहित ३२ जिल्लामा प्रभाव पारेको थियो ।
बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित घोषणा गरेको थियो । यो बिनासकारी भूकम्पबाट ८ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्ग छ । भूकम्पको कारण २२ हजार भन्दा धेरै नागरिक घाइते भए। भूकम्पबाट ५ लाख ११ हजार ३९० घर ध्वस्त हुँदा २ लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।




















