गोरखा । उत्तरी गोरखाको सामागाउँ संगै रहेको बिरेन्द्र तालमा ठुलो हिम पहिरो खसेको छ । पहिरो गए संगै तालमा रहेको पानीको तिब्र गतिमा बुढी गण्डकी नदीमा मिसिएको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी वडा सदस्य दिजेन डोल्मा लामाले जानकारी दिइन ।
उनका अनुसार मनास्लु हिमालबाट तालमा ठुलो मात्रामा हिम पहिरो खसेको हो । बिहान ९ः२० बजे भएको उक्त घटना पछी बुढी गण्डकी नदीमा बर्षामा जस्तैगरी पानीको बहाव तिब्र र ठुलो भएको छ ।
सामान्यतया ताल माथीबाट दैनिक १०–१५ चोटी हिम पहिरो जाने भएता पनि यती ठुलो मात्रामा गएको यो दोस्रो पटक भएको वडा सदस्य लामाले बताइन ।
यता हिम पहिरो गएको जानकारी प्राप्त भएको भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्रहरी परिचालन गरिएको बताए । ‘हामीलाई पनि भरर्खर तालमाथीबाट हिम पहिरो गएको जानकारी प्राप्त भएको छ’ उनले भने ‘घटना स्थल र बुढी गण्डकी नदी वरपर सर्व साधारणहरुलाई नजान सचेग गराएका छौ ।’
ठुलो क्षेत्रफल ओठटेको उक्त ताल मनास्लु हिमालको पिधमा रहेको छ । बुढी गण्डकी नदीको मुख्य मुहान नै बिरेन्द्र ताल र मनास्लु हिमाललाई मानिदै आएको छ ।
पहिरो आएको तर ताल नफुटेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । उनले पनि आफ्नो पालिका भित्र पर्ने नदी क्षेत्रमा तत्कालै नजान वडाध्यक्ष र वडा सदस्य मार्फत सर्व साधारणहरुलाई जानकारी गराउन भनेको पनि बताए ।
यता सो क्षेत्रमा कार्यरत नेपाल सरकारको मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि ताल माथीबाट हिम पहिरो गएको पुष्टी गरेको छ । आयोजना प्रमुख सन्तोष शेरचनका अनुसार हिम पहिरोका कारण बुढी गण्डकी नदीको बहाव तिब्र भएकोले नदी आसपासका सबैलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।


