गोरखा । उत्तरी गोरखाको ४ वटा डिपोमा निर्धारीत चामल मध्ये २ हजार क्विन्टलभन्दा बढी चालम ढुवानी भएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखाले आर्थिक बर्ष २०८०–०८१ को निर्धारीत कोटा मध्ये २ हजार १६ क्विन्टल चामल ढुवानी सम्पन्न गरेको सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
कम्पनीले माछाखोला, सिर्दीबास, नामरुङ र चुम्लिङ केन्द्रलाई निर्धारण गरेको २ हजार ५०० क्विन्टल चामल मध्ये उक्त परिमाणको चामल ढुवानी गरीसकेको सूचना अधिकारी सुनारले बताए । ‘सिर्दीबास र नामरुङमा कोटा अनुसार पुरै चामल ढुवानी भईसकेको छ’ उनले भने ‘चुम्लिङको लागि निर्धारण गरेको ५०० क्विन्टल मध्ये हालसम्म ४२१ क्विन्टल चामल ढुवानी भएको छ ।’
उनका अनुसार सिर्दीबासमा १ हजार र नामरुङकालागि ५०० क्विन्टल चामल ढुवानी गर्न ठेक्का लगाएको ठेकेदार कम्पनीले दुवै स्थानमा पुरा भएको छ । उता चुम्लिङ बिक्री केन्द्रको लागि भने ७९ क्विन्टल चामल कम ढुवानी भएको हो । त्यस्तैगरी, माछाखोलाकोलागि ढुवानी हुनुपर्ने ५०० क्विन्टल चामल मध्ये हालसम्म ९५ क्विन्टल मात्र ढुवानी भएर अरु बाँकी रहेको छ ।
माछाखोला बिक्री केन्द्रमा भने केही बर्षदेखी यातायात सेवा पुगेकोले कम्पनकिो चामलभन्दा बजारको चामल सस्तो परेका कारण बिक्री कम भए संगै चामल ढुवानी कम हुदै आएको कम्पनीको गोरखा शाखाले जानकारी दिएको छ ।
कम्पनीले बर्षौदेखी उक्त क्षेत्रमा अनुदानको चामल ढुवानी गर्दै केन्द्र मार्फत बिक्री गर्दै आएको छ । कम्पनीले यस पटक भने बर्षा लाग्नु पूर्व नै चामल ढुवानी सम्पन्न गर्न सफल भएको हो ।
सिर्दीबास डिपोलाई तनहुँको बिमलनगरमा रहेको कम्पनीको डिपोले पनि चामल ढुवानी गर्दै आएको छ । गोरखा शाखाले मात्र उक्त क्षेत्रमा ढुवानी गर्न अपुग हुने भएपछी बिमलनगरबाट पनि ढुवानी हुदै आएकोमा यस पटक ढुवानीकोलागि तेस्रो पटक बोलपत्र आब्हान भएको थियो । बोलपत्र आब्हानको मिती आजै सकिएको छ ।
निर्धारीत कोटा सकिएको भएता पनि प्रभावित क्षेत्र चुमनुब्री गाउँपालिकाले चामलको कोठा थप गरीदिन पत्राचार गरेको पनि सूचना अधिकारी सुनारले जानकारी दिए । पालिकाको अनुरोधलाई कम्पनीले प्रधान कार्यालयमा पत्राचार समेत गरी सकेको कम्पनीको गोरखा शाखाले जानकारी दिएको छ ।
पालिकाले नामरुङकोलागि १ हजार र चुम्लिङकोलागि थप ५०० क्विन्टल चामल कोटा थप गर्न भन्दै पत्राचार गरेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका उच्च हिमाली क्षेत्रमा पर्ने भएका कारण यहाँ धानको खेती हुदैन । सरकारले उक्त क्षेत्रकोलागि बर्षेनी ढुवानी अनुदानको चामल बिक्री गर्दै आएको छ ।
कम्पनीको गोरखा शाखाले दिएको जानकारी अनुसार सिर्दीबासमा हाल ६०० क्विन्टल र गोरखा शाखामा ४०० क्विन्टल चामल मौदात रहेको छ ।
कम्पनीले गोरखा शाखाबाट सोना मन्सुली चामल ६६ रुपैयाँ, स्टिम जिरा मसिनो ९० रुपैयाँमा बिक्री गर्दै आएको छ भने सिर्दीबासबाट सोना मन्सुली ६७ र स्टिम जिरा मसिनो ९२ रुपैयाँ किलोमा बिक्री गर्दै आएको छ ।
उता नामरुङ र चुम्लिङ डिपोले भने समान रुपमा सोना मन्सुली ६८ रुपैयाँमा बिक्री गर्दै आएको छ । तर माछाखोलामा रहेको डिपोले सोही चामल क्रमश.६६ र ९० रुपैयाँ किलोमा बिक्री गर्दा बजार मुल्यभन्दा महंगो हुन गएको हो ।


