गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट १ हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।
गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा साता ब्यापी शिविरबाट १ हजार ५८ जनाले सेवा लिएकाे पालिकाकाे स्वास्थ्य शाखाले जानकारी दिएकाे हो ।
शिविरमा गाउँपालिकाकाे आठवटै वडामा सञ्चालन गरीएकाे थियाे । शिविरमा आँखाको जाँच तथा उपचार सेवा उपलब्ध गराइएकाे गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए ।
पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले जानकारी दिए । शिविरमा ९१७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको पनि पालिकाकाे स्वास्थ्य शाखाले जानकारी दिएकाे छ ।


