गोरखा । चैते दसैँको अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तिर्थ स्थल गोरखकाली र मनकामना मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । भक्तजनको चापका कारण कालिका मन्दिर तथा गोरखाकाली मन्दिर र मनकामना मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजनहरुले घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।
‘‘मन्दिरमा भक्तजनहरुलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन र पूजापाठ गराउनकालागि प्रहरी परिचालन गरी लाइन मिलाएको छ, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुुप्रसाद पाठकले भने, ‘‘मन्दिरमा आवश्यक अन्य सवै सुरक्षा व्यवस्था मिलाइएको छ ।’’ आज अष्टमी समेत परेका कारण मन्दिरमा ७ हजार ५०० भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको छ ।
भुकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसंगै यो बर्षको चैते दसैँमा दर्शनार्थीहरुको सख्या बढेको हो । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखा सहित तनहुँ, धादिङ, लमजुङ, चितवन, काठमाण्डौं तथा देशको कुनाकुनाबाट भक्तजन गोरखाकालीको दर्शन गर्न मन्दिरमा आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
भक्तजनहरुको बाक्लो उपस्थितीका कारण पूजापाठको व्यवस्था मिलाउन सुरक्षाकर्मीहरुलाई समेत हम्मेहम्मे परेको छ । मन्दिरमा आएकाहरु मध्ये भुकम्पपछि पुनःनिर्माण भएको ऐतिहासिक गोरखा दरवारको अवलोकनका लागि पनि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु गोरखाकाली मन्दिर र गोरखा दरबार पुग्ने गरेका छन् ।
मन्दिरको तलदेखि लामो लाइन भएकाले कतिपय भक्तजनहरु पूजा नगरी मन्दिर दर्शन गरेर समेत फर्किएका छन् । भुकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना संक्रमणका कारण केही बर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरु पनि यस बर्ष मन्दिरमा आएकाले भक्तजनहरुको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको छ ।
मन्दिरमा पशुबलीका लागि दिउसो २ बजेसम्म करिब २०० वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिए । भक्तजनहरुले अरु बेला भाकल गरेर काम सम्पन्न भएपछी कालीलाई पशु बली दिने प्रचलन परापूर्व कालदेखी चल्दै आएको छ ।
त्यस बाहेक पनि नेपाल सरकारको तर्फबाट देवीको लागि भनेर छुट्टै पशु तथा पंक्षीको बलीको ब्यवस्था गरेको हुन्छ ।
कालिका मन्दिरसंंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रुपमा लिइन्छ । गोरखनाथको नित्यपूजाको परम्परा राजा पृथ्वीपति शाहको पालादेखि शुरु भएको मानिन्छ ।
आजै गोरखाको मनकामना मन्दिनमा पनि हजारौं दर्शनार्थीहरु पुगेका छन् । मनकामना मन्दिनमा पनि पशु बली दिने र दर्शन गर्नेको भिड लागेको मन्दिरका मु्ख्य पूजारी ईन्सानबहादुर थापाले जानकारी दिए ।




