गोरखा । परापूर्व कालमा गाउँघरमा सूचना दिन भरपर्दो माध्याम भनेकै कटुवाल हो । तर त्यो काम र पेशा अहिले पनि गोरखा जिल्लाको ग्रामिण भेगमा कायम नै छ । त्यसैको पछिल्लो उदाहरण हो ताकुृकोट कोर्थोकका मनबहादुर दर्जी ।
मनबहादुरले अहिले पनि मेलापर्व होस् वा गाउँभरी पूजाआजाका लागि सूचना दिनपरे सवैले सुन्नसक्ने गरी गाउँको बिचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि गाउँलेहरुले त्यसैलाई आधिकारिक सूचना मान्ने गर्दछन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित ताकुृकोट कोर्थोकका मनबहादुरले कटुवाल पेशा गर्दै आएको पनि ३ दशक भन्दाबढी भइसक्यो । हजुरबुवा र बुवाले गरेको पेशालाई पछ्याउदै उन पनि कलिलै उमेरमा कटुवाल पेशामा अपनाएका हुन् ।
माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेलापर्वहरु परेपछि दर्जी १–२ दिनअघि नै हातमा सानो माइक बोकेर गाउँका डाँडाकाडाँमा पुगेर कटुवाल कराउने गर्दछन । गाउँको खबर गाउँलेका घरघरमा पुरर्याउनु उनको पुख्यौली पेशा नै बनेको छ ।
कटुवाल कराउने दिन जहिले बिहानै झिसमिसेमा नै घरबाट निस्कने गर्दछन उनी । घरबाट निस्किएपछि पुरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि विहान सकभर ६ बजे नै घरबाट निस्किएर कटुवाल कराउन थाल्छन मनबहादुर । ‘‘गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ, उनले भने, ‘‘विहान ६ बजे नै उठेर हिडेन भने भ्याउन मुस्किलमुस्किल नै पर्छ ।’’
कटुवाल पेशा मात्रै पुरानो होइन मनबहादुरको । उनले पाउने पारिश्रमिक पनि अझैसम्म पुरानै छ । ‘‘हाम्रो परिवारको म मात्र होइन, तीनपुस्तादेखि नै कटुवाल पेशा गर्दै आएका छौँ, उनले भने, ‘‘बाजेले गरेँ, बाउले गरेँ अहिले मैले गर्दैछु ।’’ कटुवाल कराए वापत उनले गाउँका सवै घरघरीबाट गरेर बर्षमा करिब–करिब चारमुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट १ भाग मिठो मसिनो खानेकुरा पाउछन् ।
‘‘गाउँलेले घरैपिच्छे बार्षिक ४ मानाका दरले कोदो दिन्छन्, मनबहादुरले भने, ‘‘त्यहीँ खाँयो, काम ग¥यो ।’’ चैतेपूजा, कात्तिके पूजा लगायतका पूजापर्वमा कटुवाल प्रथासंगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उनको भनाई छ । ‘‘मूल्य निर्धारण समिति छ । उसैले मूल्य निर्धारण गरेर पैसा दिनुहुन्छ, उनले भने ‘‘त्यसै अनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरो हुन्छ ।’’
पुरानो कटुवाल पेशाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको उन बताए । ‘‘अन्त गएर जागिर खाएको भए त पेन्सिन भइसक्नु पर्ने, ठट्टा गर्दै मनबहादुरले भने, यहीँ पेशाले नै परिवारका ४÷५ जना सदस्य पालेको छु ।’’ लामो समयदेखि कटुवाल गर्दै आएका मनबहादुरलाई आजभोली भने अन्नबाली भन्दापनि काम गरे बापत नगद दिए हुन्थ्यो भन्ने लागेको छ ।
‘‘बर्ष भरीमा अन्न जति आउछ त्यसबापत बरु पैसा दिए राम्रो हुन्थ्यो, उनले भने, ‘‘अहिले त बर्षमा करिब ४ मुरीजति कोदो कटुवाल गरेर संकलन गर्ने गरेको छु ।’’ कटुवाल पेशा गरेरै गाउँको सेवा गर्न पाएको भने गर्व लाग्ने गरेको अनुभव सुनाए । गाउँले आफ्नो कुरा सुन्ने र मान्ने गरेकोमा पनि खुशी लाग्ने गरेको उनको भनाई छ ।
‘‘पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेहरुले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउछन्, उनले भने, ‘‘त्यो दिन खनजोत, गोडमेलको काम छ भनेपनि थाती राखेर आउछन् नि ।’’ पछिल्लोसमय भने गाउँलेले उपलब्ध गराएको माइक लगायर बोल्न पाएपछि अलि सजिलो हुन थालेको महशुस भएको उनले बताए ।
गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा बिभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेहरुलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने प्रचलन रहदै आएको स्थानीय जीतबहादुर नेपाली बताए ।
‘‘माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सवैले पूजाबार्ने प्रचलन अहिलेपनि छ, उनले भने, ‘‘उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दशैको पूजा लगायतका अन्य मेलापर्वलाई लक्षित गरी २ जना कटुवालहरु राख्ने चलन छ ।’’ मन्दिरमा पूजाआजाको सूचना दिन अहिलेपनि २ जना कटुवाललाई जिम्मेवारी दिइदै आएको नेपालीले जानकारी दिए ।



