गोरखा । गोरखाको पालुङटार नगरपालिकामा सञ्चालित निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा करिब १५ सय जनाले सेवा लिएका छन् । नगरपालिकाले सबै वडामा सञ्चालन गरेको शिविरबाट १ हजार ४११ जनाले स्वास्थ्य जाँच गराएको नगरपालिकाले जनाएको छ ।
‘‘आयुर्वेद उपचार पद्दतीलाई घरघरमा पु¥याउने र नगरबासीहरुको स्वास्थ्य उपचारमा पनि विशेष ध्यान पु¥याउने उद्देस्य सहित शिविर सञ्चालन गरिएको नगरपालिका प्रमुख विवश चिन्तनले बताए । उनका अनुसार नगरपालिको ८ वटा वडाहरुमा सञ्चालन गरिएको शिविरबाट १ हजार ४११ जनाले निशुल्क उपचार सेवा लिएको छ ।
शिविरमा स्वास्थ्य जाँच गराएका विरामीहरुलाई निशुल्क रुपमा औषधी समेत वितरण गरिएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरमा बाथजन्य रोग, उच्च रक्तचाप, मांसपेशी दुख्ने, हाडजोर्नीका समस्या भएका विरामी, घुँडा दुख्ने समस्या, स्त्रीरोग, पेट तथा पाचनसम्बन्धी समस्या भएका विरामीहरुको विशेषज्ञ चिकित्सकहरुबाट आयुर्वेद उपचार पद्धती अनुसार उपचार सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख हितकाजी श्रेष्ठका अनुसार त्यस्तै ग्याष्ट्रिक, पाइल्स, फिस्टुला लगायत अन्य विभिन्न रोगको पनि शिविरमा उपचार गरिएको थियो । उनका अनुसार सेवा लिएकाहरुमध्ये धेरैजसो विरामीहरुमा ग्राहीबाथजन्य रोगको समस्या रहेको पाइएको छ ।
शिविरबाट पालुङटार नगरपालिकाको १ मा १४६ जना, २ मा १४१ जना, ३ मा १३६ जना र ६ मा २३५ जनाले सेवा लिएका थिए । त्यस्तैगरी, वडा नम्बर ७ मा १५२ जना, ८ मा ३१५ जना, ९ मा १३७ जना र १० मा १४९ जना लाभव्दित भएको नगरपालिकाले जनाएको छ ।




















