गोरखा । गोरखा नावरेश्वरका राजेश परियार सवारी ज्यान मुद्वामा पुर्पक्षका लागी गोरखा कारागार चलान भएका छन् । परियारलाई फागुन १९ गते सिरानचोक गाउँपालिका–७ को भालुस्वाँरामा भएको मोटरसाइकल दुर्घटनामा गोरखा जिल्ला अदालतले पुर्पक्षका लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार फागुन १९ गते राती १० बजेको समयमा सिरानचोक गाउँ पालिका–७ भालुस्वाँरा स्थित सडकखण्डमा गोरखा नगर पालिका–३ नारेश्वर निवासी ३० बर्षे परियारले चलाई आएको बा. ९१ प ४५८ नं. को मोटरसाईकल पल्टिदा सोही मोटरसाईकलमा पछाडि सवार सिरानचोक गाउँ पालिका–६ नयाँसाघु बस्ने २७ बर्षका मिलन थापा मगरको ज्यान गएको थियो ।
दुर्घटनामा गंभिर घाईते भएका थापा मगरको गोरखा अस्पतालमा उपचारका क्रममा सोही रात ज्यान गएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
दुर्घटना लगत्तै फरार भएका परियारलाई प्रहरीले राजधानीबाट पक्राउ गरी ल्याएको थियो । सवारी ज्यान घटनामा मोटरसाईकल चालक परियार अनुसन्धान पश्चात जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा पेश गर्दा अदालतको चैत्र १४ गते निजलाई पुर्पक्षको लागि कारागार गर्ने आदेश दिएको हो ।




















