काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल १–० ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा मध्यान्तर अघिसम्म गोलरहित बराबरी खेलेको नेपाललाई पराजित गर्न पाकिस्तानका लागि अली जफ्फरले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
उनले खेलको ७५ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाएका हुन् । पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
खेलको नवौँ मिनेटमा मुहम्मद अदिल योउनासको फ्री किक पोष्टको माथिबाट बाहिरिएको थियो । ११औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेको थिएन ।
२७ औं मिनेटमा शाह जहानको फ्रिकीक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाएका थिए । नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ ।
६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । नेपालले यो प्रतियोगिता सन् २०१५ मा जितेको थियो । यसबीचमा यू–१९ स्तरीय साफ च्याम्पियनसिप आयोजना भएको थिएन ।
सन् २०१७ र २०१९ मा साफ यू–१८ च्याम्पियनसिप भएको थियो भने सन् २०२२ मा साफ यू–२० च्याम्पियनसिप आयोजना भएको थियो । नेपालले सन् २०१७ मा आयोजना भएको साफ यू–१८ च्याम्पियनसिप पनि जितेको थियो ।



