मुस्ताङ । मुस्ताङका किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा यस पटक भने डिाल गरी स्याउ टिप्न थालिएको हो ।
मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैलेलगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानी भनेरसमेत चिनिने मार्फा र टुकुचेका स्याउ बगैंचा राताम्य देख्न सकिन्छ ।
मुस्ताङमा यस पटक ढिला गरी स्याउ टिप्न थालिएको स्थानीय तथा पत्रकार सुशिलबाबु थकालीले जानकारी दिए । विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरिएको थकालीले बताए ।
अहिले स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारी स्याउ बगैँचामा पुगेका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीले स्याउको बगैँचा नै ठेक्का लिने पनि चलन छ । धादिङ, चितवन, पोखरा, काठमाण्डौँ लगायतका ठाउँबाट व्यापारी स्याउ खरिद गर्न मुस्ताङ पुगेका छन् ।
मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ । मुस्ताङमा वार्षिक करिब ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ ।
यहाँ गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ ।


