विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर मोरङ प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा आइतबार जारी सूचनामा विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु बनाएर विविध समूहबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।
प्रदेशसभा पूर्व देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३०० मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३०० मिटर वरपर एवं जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वलाई निषेधित क्षेत्र तोकिएको छ ।
निषेधित क्षेत्रमा कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना गर्न निषेध गरिएको हो । निषेधाज्ञा उल्लंघन गरिए कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
प्रदेशको नामकरण ‘कोशी’ गरिएसँगै पहिचानवादी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । ‘प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समिति’ ले असोज २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली आयोजना गर्ने जनाउँदै आएको छ ।
प्रदेश नामकरणको विरोधमा रहेका संगठनहरुले विगतमा पनि विरोध प्रदर्शन गर्दै आएका थिए । केही समय स्थगित आन्दोलन फेरि अघि बढाउने ती संगठनले जनाउँदै आएका छन् ।




