साँकेतिक तस्बिर
एजेन्सी । विश्व परिवेशलाई नियाल्ने हो भने काम गर्नेलाई एक सेकेन्ड पनि फुर्सद छैन । तर यही विश्व भित्रै अल्छी मानिसहरुका लागि सुतेरै पैसा कमाउन सकिन्छ भन्दा अचम्म लाग्न पनि सक्छ । हो यस्तै अल्छीहरुका लागी सुत्ने प्रतियोगीता चलिरहेको छ ।
अब अल्छीहरुले २० दिनसम्म सुत्न सकेको खण्डमा १ लाख ५० हजार पुरस्कार पाउने छन् । उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुन्छ । त्यहाँ मानिसहरु सबैभन्दा अल्छी नागरिकको प्रतिष्ठित उपाधि जित्नका लागि तछाडमछाड गर्दछन् । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा ७ जना अल्छीहरुले भाग लिएका छन् ।
१ हजार युरो पुरस्कार जित्नका लागि प्रतिस्पर्धा गरिरहेका सहभागीहरु २० दिनदेखि गुन्द्रीमा सुतिरहेका छन् र दिन कटाईरहेका छन् ।
ती सहभागीहरुले गत वर्षको ११७ घण्टाको रेकर्ड तोडिए पनि अझै बढीभन्दा बढी समयसम्म सबैभन्दा अल्छी बनेर यसैगरी पल्टिरहन चाहन्छन् र पुरस्कार जित्न चाहन्छन् ।
२३ वर्षीय फिलिप कनेजेविक यो पाला आफूले प्रतियोगिता जित्ने दाबी गर्दछन् ।
उनी भन्छन्, ‘हामीसँग आफूलाई चाहिने सबै कुरा यहाँ छन् । उपस्थित मानिसहको साथ गज्जबको छ, त्यसैले समय तीव्र गतिमा बितिरहेको छ ।
यो अल्छी प्रतियोगितामा उठ्न पाइँदैन र हरेक ८ घण्टामा १० मिनेटको बाथरुम छुट्टी पाइन्छ ।
प्रतिस्पर्धीहरुले खाने, पिउने, पढ्ने तथा फोन र ल्यापटप प्रयोग गर्न पनि पाउँछन् । तर उनीहरुले यी सबै काम सुतेरै गर्नु पर्दछ ।
प्रतियोगिताका आयोजक तथा रिसोर्ट मालिक रेडोन्जा ब्लागोजेविकका अनुसार मोन्टेनेग्रोका मानिसहरु अल्छी हुन्छन् भन्ने आम धारणालाई चिर्नका लागि १२ वर्षअघिबाट उक्त प्रतियोगिता गर्न सुरु गरिएको हो ।
यो पटकको प्रतियोगितामा सुरुमा २१ जना प्रतिस्पर्धी रहेकोमा ७ जनामात्र बाँकी छन् । उनीहरु ४६३ घण्टादेखि पल्टिरहेको आयोजक बताउँछन् ।



