साँकेतिक तस्बिर
पोखरा । पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पक्राउ परेका छन् ।
कोषाध्यक्ष कुमार रम्तेललाई काठमाण्डौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक श्रवनकुमार विकले जानकारी दिए । उनीसहित ७ जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत हुन् ।
बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ । सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले कास्की प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले १ अर्ब ८ करोड बढी रकम हिनामिना गरेको आरोप छ ।
साउन ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो ।
निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै सहकारी ऐन शीर्षकमा जाहेरी दिएका हुन् ।




















