काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा०) अध्यक्ष र महासचिववविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
संस्थापन इतरका बहुमत सदस्यहरुले एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । शेर्पा समूहले सोमबार मेलमार्फ अविश्वासको प्रस्ताव दर्ता गराएको र भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पुष्टि गरे ।
अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाइएको उनको भनाइ छ । प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए ।
एन्फाले विशेष साधारणसभा अनलाइनमार्फत गर्ने निर्णय गरेपछि भौतिक उपस्थितिमै साधारणसभा गर्नुपर्ने माग डिभिजन क्लबको थियो । एन्फाले आइतबार अनलाइनमार्फत साधारणसभा गर्न खोजे पनि बहुमत सदस्य उपस्थित नभएपछि आजसम्मका लागि स्थगित भएको थियो । तर, आज पनि शेर्पा समूहको अवरोधले साधारणसभा सुरु हुन नसकेको हो ।
एन्फा विशेष साधारणसभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेका सदस्य संस्थाहरुले विशेष सल्लाह सुझावबमोजिम एन्फा अध्यक्षबाट साधारणसभा स्थगित भएको जानकारी एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्तिमार्फत गराएका छन् ।



